वरिष्ठ मनोचिकित्सक डा. अनन्त अधिकारीले आफ्नो नयाँ गीति भिडियो ‘मुटुसँग खेल खेल्यौ’ सार्वजनिक गरेका छन्। प्रेम र वियोगका सूक्ष्म अनुभूतिहरूलाई कलात्मक रूपमा प्रस्तुत गरिएको यो भिडियो डा. अधिकारीकै आधिकारिक युट्युब च्यानलमार्फत दर्शकमाझ ल्याइएको हो।

सार्वजनिक गीतमा डा. अधिकारीकै शब्द रचना रहेको छ। यस गीतलाई अष्ट लामाले संगीतबद्ध गरेका हुन् भने गायिका गंगा सोनामले स्वर दिएकी छन्। गीतको भावअनुसारको भिडियो निर्माणमा पनि विशेष ध्यान दिइएको छ।

सुनिल पाण्डेको निर्देशनमा तयार भएको यस गीति भिडियोमा कलाकारहरू सोनी लगुन, प्रवीण डीसी तथा राजेश श्रेष्ठले अभिनय गरेका छन्। भिडियोको छायांकन काठमाडौं उपत्यका वरपरका विभिन्न रमणीय एवं आकर्षक स्थानहरूमा गरिएको छ, जसले गीतको दृश्य पक्षलाई थप सबल बनाएको छ।

चिकित्सा पेसासँगै साहित्य र संगीतमा पनि उत्तिकै सक्रिय डा. अधिकारी नेपाल सरकारका प्रमुख कन्सल्टेन्ट साइकियाट्रिस्ट हुन्। उनले विगत लामो समयदेखि नियात्रा, कविता तथा गीत लेखनका क्षेत्रमा निरन्तर कलम चलाउँदै आएका छन्।

यसअघि डा. अधिकारीका ‘सिरिरिरी बतासै चल्यो लै लै’ र ‘म पागल होइन’ जस्ता गीतहरू सार्वजनिक भइसकेका छन्, जसलाई स्रोता एवं दर्शकले निकै रुचाएका थिए। उनको यो नयाँ सिर्जनाले पनि नेपाली सुगम संगीतका प्रेमीहरूको मन जित्ने अपेक्षा गरिएको छ।